दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संविधानले व्यवस्था गरे बमोजिम महिलाहरूले प्राप्त गरेको जिम्मेवारी सँगै नेतृत्व विकासका लागि सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेतृत्व विकास नगरेका कारण पार्टीले समेत महिलाहरूलाई प्रमुख पदमा उम्मेदवार बनाउन आनाकानी गर्ने गरेको बताउँदै नेतृत्वका लागि क्षमता विकास नभएका कारण कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाउँदा नसोधेरै वा बस्नै पर्छ भन्ने बाध्यकारी अवस्था अहिले पनि कायमै रहेको बताएका छन् ।
गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई नेतृत्व विकास तालिममा बोल्दै समन्वय प्रमुख शाहीले नेतृत्वमा पुगेका नेताहरूले थप नेतृत्व विकास गर्नुपर्ने र महिलाहरू नेतृत्वका लागी आफै अगाडी बढ्नु पर्ने बताउँदै दैलेखका ११ पालिकामा निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागी स्थानीय सरकारले समेत चासो दिनु पर्ने सुझाव दिएका छन् ।
निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि आफ्नै पालिकाबाट बजेट माग गर्दै नेतृत्व विकासका कामहरू थाल्नुपर्ने सुझाव शाहीले दिएका छन् ।
संविधान अनुसार महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । निर्वाचित महिला जनप्रतिनिधिहरूलाई कानुनी अधिकार र सशक्तीकरणका बारेमा कम जानकारी भएका कारण कतिपय समस्याहरू देखिएका छन् ।
जनतालाई कसरी प्रभावकारी सेवा प्रदान गर्ने भन्ने विषय सँगै कानुनी अधिकार, जनप्रतिनिधिको काम कर्तव्यका विषयहरू जानकारी गराउँदै प्रभावकारी कार्यान्वयनका लागि दैलेखको गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
तालिममा स्थानीय सरकार सञ्चालन ऐन–२०७४मा स्थानीय सरकारका जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार, महिला, दलित महिला सदस्य तथा कार्यपालिकाका सदस्यहरूको काम, कर्तव्य र अधिकारहरू, नेतृत्व विकास, संघीयता, मानव अधिकार र विभिन्न तहका सरकारका अधिकारहरू र संवैधानिक व्यवस्था, महिला नेतृत्व विकासका आधारभूत सिपहरू लगायत विभिन्न कानुनी व्यवस्थाहरू, सूचना सम्बन्धी हक अधिकार विषयमा महिला जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।
टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागी साझा अभियान नेपालको सहकार्यमा महिला सशक्तीकरण मञ्च नेपालको आयोजनामा जिल्लाका दुई पालिकाका महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता अभिवृद्धि तालीम प्रदान गरिएको महिला सशक्तीकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले जानकारी दिएका छन् । स्थानीय तहमा निर्वाचित भएका महिलाहरूले आफ्ना अधिकार,काम कर्तव्यका विषमा जानकारी दिने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताएकी छन् ।
महिलाहरू कार्यपालिका र वडा पालिकामा केवल साक्षीको रूपमा मात्र नभएर साँच्चिकै नेतृत्व लिन सक्ने गरी उहाँहरूको क्षमता विकास गर्न लागिएको चन्दको भनाई छ ।
गैरसरकारी संस्था महासघ दैलेखका अध्यक्ष महारूप खत्रीले निर्वाचित महिला जनप्रतिनिधिले साझा भएर जनताको सेवा दिनु पर्ने बताए । उनले निर्वाचनमा उम्मेदवार हुँदा कुनै पार्टी भए पनि निर्वाचित भएपछि सबैको साझा बन्न सक्नु पर्ने सुझाव दिएका छन् ।
स्थानीय तहमा रहेका न्यायिक समितिले न्याय सम्पादन गर्दा राजनीतिक गन्ध नआउने गरी काम गर्न खत्रीको सुझाव छ ।
गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूको क्षमता विकास सँगै उनीहरूलाई आफ्नो काम कर्तव्य र अधिकारका विषयमा जानकारी प्राप्त गर्नु राम्रो भएको बताए ।
महिला सशक्तीकरण मञ्च नेपालको सहयोगमा न्यायिक समितिलाई समेत क्षमता विकास तालीम दिएपछि न्याय सम्पादन गर्न समेत सहज भएको जानकारी दिएकी छन् ।
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई अधिकार रक्षा र कार्य सम्पन्न गर्ने बारेमा पालिकालेनै तालिम लगायतका बिषयहरुलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।











